नवराज महतारा
कर्णाली प्रदेशको हुम्लामा स्थानीय तह निर्वाचन भएको एक वर्ष पुग्यो । हुम्लाबासीले ‘गाउँगाउँमा सिंहदरबार’ आउने ‘हल्ला’ सुनेको त वर्ष दिन भइसक्यो । तर गाउँमा सिंहदरवार आएको बर्षदिन बितिसक्दा पनि स्थानीयले सेवासुविधा प्राप्तीमा कत्तिपनि परिवर्तन महसुस गरेका छैनन् ।
ताँजकोट गाउँपालिका–३ मासपुरका ५० वर्षिय तुलपति रोकायाको २०७४ पुसमा ज्यान गयो । उनको ज्यान जानुको मुख्य कारण थियो, समयमै औषधी, उपचार नपाउनु । रुघाखोकी र ज्वरोले दुईसातासम्म थलिँदा पनि गाउँमा औषधि नपाएपछि उनको मृत्यु भएको थियो । “औषधि लिन दिनभर हिँडेर छप्रेलास्थित स्वास्थ्य चौकी गयौँ” तुलपतिका दाई मंग्याले भने, “औषधि नपाएपछि रित्तो हात फर्किनुप¥यो, भाइलाई बचाउन सकिएन ।”
सदरमुकाम सिमकोटदेखि चार दिनको पैदल दूरीमा रहेको हुम्लाको दक्षिणी दुर्गम गाउँ मासपुरका स्थानीयहरु औषधी लिन छप्रेलास्थित मैला स्वास्थ्य चौकी जाने गर्छन । तर हिजो आज उनीहरु रित्तो हात फर्किने गरेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि घरेलु उपचारमा भर पर्नुको विकल्प उनीहरुसंग छैन । एक महिनादेखि विरामी परेकी मासपुरकी वैशागी बुढाले भनिन्, “पेट दुख्दा पनि लसुन र फलामको बासो (दाउरा काट्ने औजार) राखेर उमालेको पानी खाने गरेकी छु ।”
समाचार संकलन गर्न चैत अन्तिम साता मासपुरमा पुग्दा गाउँमा १५ जना विरामी भेटिएका थिए । १९ घरधुरी रहेको मासपुरका धेरैलाई ज्वरो र टाउको दुख्ने समस्या थियो । तर उनीहरुले औषधि पाउन सक्ने अवस्था थिएन ।
स्थानीय जनप्रतिनिधि पनि यसबारे बेखबर थिए । वडा नम्बर ३ का अध्यक्ष परिमल सुनारले भने “मलाई थाहै थिएन, अब गाउँपालिका अध्यक्षसँग कुरा गरेर औषधि उपचारको व्यवस्था मिलाउँछु ।” ताजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले स्थानीय मैला स्वास्थ्य चौकीमा पठाउनका लागि गाउँपालिकाले औषधि खरिद गरेर ढुवानी समेत भैसकेको बताए । तर उनले खरिद गरेको भनिएको औषधि चैत अन्तिम सातासम्म स्वास्थ्य चौकीमा पुगेको थिएन ।
औषधि नपुगेकै कारण मासपुरका ७० वर्षीय जोख्या बुढाले टाउको दुख्दा सिटामोल समेत नपाएको गुनासो गरे । जोख्याले भने, “टाउको दुख्दा सिटामोल नपाएर चुक (अमिलो) र मर्चा (खुर्सानी) लगाउनु परेको छ । औषधी नै पाइएन ।”
हुम्लाकै अदानचुली गाउँपालिकाका ५ वटा स्वास्थ्य संस्थामा पनि सिटामोल लगायतका सामान्य औषधी सकिएको झण्डै ६ महिना बित्यो । यसले गर्दा औषधि उपचारको लागि स्वास्थ्य संस्थाजाने अदानचुलीका सेवाग्राहीहरु उपचारै नपाई फर्किने गरेका छन् । अदानचुलीको श्रीनगर इलाका स्वास्थ्य चौकीकी अनमी सुमन चौरसियाले औषधि नभएकोले उपचारको लागि आउने विरामीहरुलाई रित्तो हात घर फर्काउनु परेको अनुभव सुनाइन् । “अघिल्ला वर्षहरुमा वर्षको चारपटक जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधी ल्याएर काम चलाउने गरिएको थियो” चौरसियाले भनिन्, “जनस्वास्थ्य (कार्यालय) स्थानीय तहमा हस्तान्तरण भएपछि अवस्था लथालिङ्ग भएको छ ।”
औषधिको अभावमा स्थानीयले सास्ती पाएका मात्र छैनन्, वडा र गाउँपालिका केन्द्रबाट हुनुपर्ने अन्य कामकारबाही पनि नहुँदा स्थानीयले हैरानी खेपिरहेका छन् । जसले गर्दा, स्थानीय सरकार हुम्लाबासीलाई ‘हर्ष न विस्मात’ भएको छ । यसको एउटा उदाहरण हो, २०७४ कार्तिक र फागुनमा वितरण गरिसक्नुपर्ने बृद्धभत्ता गाउँपालिकाहरुले वितरण नगर्नु ।
मासपुरका ७० वर्षीय जोख्या बुढाले भने “पइला (पहिला) ढिलै भएपनि छप्रेला गयापुणा (गएपछि) वृद्धभत्ता पाईदो छियो (थियो), अहिले त झन त्यही सुविधा पनि पाइयोन (पाइएन) ।” उनका भनाइमा, “मैला गाविस ताजकोट गाउँपालिका बन्नुअघि गाविस सचिव र मुखिया चार÷छ महिनामा गाउँमा गएर बृद्धभत्ता बाँड्ने गरेका थिए । अहिले स्थानीय तह हुँदा जनप्रतिनिधि र कर्मचारी कार्यालयमा समेत भेटिँदैनन् ।” अदानुचलीका ८८ वर्षिय धर्मसिंह भण्डारीको पनि यस्तै पिडा छ । गएका वर्षमा माघ महिनासम्म पाउने जेष्ठ नागरिक भत्ता बापतको रकमले वर्षभरीका लागि आफू र आप्mनी श्रीमतीका लागि बोल्टीबाट कपडा मगाइसक्थे । तर “यो वर्ष गाउँपालिकाले रकम नदिएपछि कुपडा त के घरमा नुन, तेल र साबन किनौ भने एक पैशा छैन्, उनले भने ।”
४४ वडा १५ सचिव
ताँजकोट गाउँपालिकाका सबै वडा र छप्रेलास्थित गाउँपालिका कार्यालयमा कर्मचारीको अभाव छ । पाँचवटा वडा भएको ताँजकोटमा दुई जना वडा सचिव छन् । उनीहरु पनि गाउँपालिका कार्यालयमै बसेर काम गर्ने गरेका छन् । “सबै वडामा सचिव छैनन्” वडा सचिव विष्णु सार्कीले भने, “हामी वडावडा पुगेर सेवा दिन सक्दैनौँ, बरु स्थानीयलाई पनि यहिँबाट सजिलो होला ।”
हुम्लाकै चंखेली गाउँपालिकाको कथा पनि ताजकोटको भन्दा फरक छैन । स्थानीय तह गठन भएपछि आफ्नै वडाबाट जन्मदर्ता, विवाह दर्ता, नागरिकताकोे सिफारिस लिने जस्ता काम होलान् भन्ने आश गरेका स्थानीयलाई गाउँपालिकाको केन्द्र पिप्लाङ धाउनुपर्ने बाध्यता छ । किनकी, चंखेलीका वडाहरुमा कर्मचारी छैनन् । कर्मचारीले वडाबाट पञ्जिकरण गर्दा आवश्यक पर्ने सबै फारम र छाप पिप्लाङ लगेका छन् ।
चंखेली गाउँपालिका–२ गर्खाकी धर्मकला शाहीले दुई पटकसम्म वडा कार्यालय पुग्दा पनि छोराको जन्मदर्ता गराउन नपाएको गुनासो गरिन । “पहिले बरु गाविस कार्यालय नजिकै थियो, अघिल्ला सन्तानको सजिलै जन्मदर्ता गराएको थिएँ” शाहीले भनिन्, “गाउँमै सरकार आयो भन्छन्, तर मलाई झन् दुःख भयो ।”
पिप्लाङ यसअघि श्रीमष्ठा गाविसको बजार थियो । श्रीमष्ठाका बासिन्दा ‘सरकारी कामकाज’का लागि पिप्लाङ नै पुग्ने गर्थे । स्थानीय तह बनिसकेपछि स–साना काम वडाबाटै सम्पन्न होलान् भन्ने आश गरेका स्थानीयलाई अहिले पनि पिप्लाङ नगई धरै छैन । वडामा कर्मचारी भइदिएको भए नजिकैको वडा कार्यालयबाट सहजै हुने काम गर्न पनि चंखेली गाउँपालिकाका अधिकांश वस्तीका स्थानीयलाई एक दिन पुरै हिँडेर गाउँपालिकाको केन्द्र पिप्लाङ पुग्नुपर्ने बाध्यता छ । जसले गर्दा ‘गाउँगाउँमा सिंहदरबार’को नारा चंखेलीका स्थानीय जनतालाई एउटा ‘सरकारी ठट्टा’ जस्तै लागेको छ । चंखेली गाउँपालिका–५ नेप्काका हरिचन्द्र तामाङले भने “गाउँमा सिंहदबार ल्याउने कुरा गरेर सरकारले हामीलाई ढाँट्यो ।”
६ वटा वडा भएको चंखेली गाउँपालिकामा सचिव भने २ जना मात्रै छन् । चंखेली–३ का वडा अध्यक्ष तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष सालिग्राम ऐडीले कर्मचारीको अभाव र आवश्यक भौतिक पूर्वाधार नहुँदा गाउँपालिका र वडाबाट हुनुपर्ने कामहरु नभएको स्वीकारे । “हाम्रो काम प्रभावकारी हुन सकेन” ऐडीले भने, “एकातर्फ कर्मचारी छैनन्, अर्कोतर्फ गाउँमा बैङक, इन्टरनेट, फोन, विद्युत जस्ता आधारभूत सुविधा समेत नहुँदा बिजोग भएको छ ।”
वडा कार्यालयमा मात्र होइन, गाउँपालिका केन्द्रमा पनि पर्याप्त कर्मचारी छैनन् । ‘स्थानीय सरकार’ को हैसियत प्राप्त गरेका जनप्रतिनिधिहरु पनि कार्यालयमा भेटिँदैनन् । अदानचुली गाउँपालिका–५ कर्गैका दिपबहादुर रोकायाले गाउँमा वडा अध्यक्ष र वडा सचिव नभएका कारण जन्मदर्ता गराउन समेत गाउँपालिकाको कार्यालय पुग्नु परेको गुनासो गरे । ६ वटा वडा भएको अदानचुली गाउँपालिकामा पनि दुई जनामात्र वडा सचिव छन् ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले एउटै व्यक्तिले धेरै ठाउँको जिम्मेवारी बहन गर्नुपरेकोले चाहेअनुसार सेवा दिन नसकेको स्वीकारे । उनले एक जना सुब्बा र दुई जना सचिवले सिङ्गो गाउँपालिकाको काम धान्नुपर्दा कठिनाई भएको बताए । “मलाई पनि बैठकमा सहभागी हुन अन्यत्र गइराख्नुपर्छ” फडेराले भने, “म नभएको बेला त भएका कर्मचारी पनि बस्दैनन्, त्यसैले सेवाग्राहीहरु सुविधाबाट बञ्चित भइरहेका छन् ।” स्थानीय जनतालाई आफ्नै घरदैलोमा सरकार आएको अनुभुत गराउने भए सरकारले तत्कालै दरबन्दी अनुसारका कर्मचारी पठाउनुपर्ने उनको भनाइ छ ।
नाम्खा गाउँपालिका–२ केर्मीका तञ्जन लुण्डुप लामाको अनुभव पनि दिपबहादुरसँगै मिल्दोजुल्दो छ । चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छोरा राप्केलाई ‘पिछडिएका क्षेत्रको नागरिक’ सिफारिस लिन चार पटकसम्म गाउँपालिका केन्द्र याल्वाङ्ग पुग्दा पनि काम नभएको लामाले बताए । “बरु पहिले गाविस सचिव जिल्ला सदरमुकाम सिमकोटमा भेटिन्थे, काम पनि बन्थ्यो” उनले भने, “अहिले गाउँपालिकाको केन्द्रमा त कर्मचारी र जनप्रतिनिधि कोही भेटिनँ ।”
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी गाउँमा नबसेका कारण हुम्लाका सातवटा गाउँपालिकाका नागरिकलाई सेवा लिन कठिनाई भइरहेको छ । ४४ वडा भएको हुम्लामा जिल्ला समन्वय समितिले पहिलो पटक कर्मचारी मिलान गर्दा २२ जना सचिव पठाएको थियो । तर अहिले जिल्लाभर १५ जना मात्र सचिव छन् । ति मध्ये पनि अधिकांश गाउँपालिका केन्द्रमा बसेर काम गर्छन् ।
उनीहरुलाई भेट्न पनि गाउँपालिका केन्द्रमै धाउनुपर्ने अवस्था छ । वडाका सचिवहरुलाई दोहोरो जिम्मेवारी दिइएका कारण उनीहरु गाउँपालिकाको समेत जिम्मेवारी लिएर गाउँपालिकाको कार्यालयमा बस्ने गरेका छन् ।
गाउँमा कर्मचारी नहुँदा आफूहरुले स्थानीय जनतालाई सेवासुविधा दिन नसकेको चंखेली गाउँपालिका–१ का वडा अध्यक्ष नन्दबहादुर बोहोरा स्वीकार्छन् । “वडामा पर्याप्त कर्मचारी छैनन्” बोहोराले भने, “चुनावको बेला दिएका आश्वासन पुरा गर्न नसक्दा ग्लानी भइरहेको छ ।” बोहोराले स्थानीय तहहरु कानुनी रुपमा अधिकारसम्पन्न भएपनि केन्द्र र प्रदेश सरकारले कर्मचारीको व्यवस्था नगरेर समस्या आएको बताए ।
सर्केघार्ड गाउँपालिकामा आठ वटा वडा छन् । यहाँ पनि २ जना सचिवले मात्रै काम चलाउनु परेको छ । यी दुई सचिव पनि वडा कार्यालयमा होइन गाउँपालिकाको कार्यालयमा भेटिन्छन् । जसले गर्दा राहदेउ, जैर, रोडिकोट लगायतका दुर्गम गाउँबाट स्थानीयलाई वडाको सिफारिस लिन झण्डै एक दिन हिँडेर सचिव भेट्नुपर्ने अवस्था छ । गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख कुमानसिंह धामीले दरबन्दी अनुसार कर्मचारीको व्यवस्था नभएकोले कार्यसम्पादन प्रभावित भइरहेको उल्लेख गरे । धामीले भने “केन्द्र र जिल्ला समन्वय समितिबाट कर्मचारी नपठाइदिनाले वडाबाट दिनुपर्ने सेवा दिन सकेका छैनौँ ।”
सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लाका धेरै दुर्गम गाउँ मध्ये सर्केघार्ड एक हो । जहाँ समन्वय समिति र केन्द्रबाटै पठाइएका कर्मचारीहरु पनि पुगेका छैनन् । जसले गर्दा गाउँपालिकामार्फत हुनुपर्ने कार्यसम्पादन भएको छैन । स्थानीयले पनि आफ्नो सेवा सुविधाको उपभोग गर्न पाएका छैनन् ।
निमित्त कार्यकारी प्रमुख धामीले भने, “थोरै कर्मचारीले धेरै वडामा काम गर्न भ्याएका छैनन्, त्यसैले नागरिकलाई केन्द्रमै आउनुपर्ने बाध्यता छ ।” उनका अनुसार गाउँपालिकामा उपलब्ध सिमित कर्मचारीको समय पनि सिफारिस दिने र उपभोक्ता समिति गठन गर्नमै बित्ने गरेको छ ।
सात वटा गाउँपालिका भएको हुम्लामा सिमकोट र नाम्खा बाहेक सवै गाउँपालिकामा सुब्बा र खरिदारले निमित्त कार्यकारी अधिकृत चलाएका छन् । सदरमुकाम सिमकोटस्थित विभिन्न सरकारी कार्यालयमा लेखा अधिकृतलाई गाउँपालिकाको आर्थिक अधिकार दिएर राखिएको छ । कुनै गाउँपालिका पनि दरबन्दी अनुसार हुनुपर्ने जति कर्मचारी नभएको जिल्ला समन्वय समिति हुम्लाका संयोजक दानबहादुर रावतले बताए । उनले भने, “कर्मचारी नै नभएपछि नागरिकले सेवा पनि पाएका छैनन् ।”
ले ६ वटा वडाको काम गर्नुपरेको बाध्यता सुनाए । “जिल्लामा सचिव लगायत सबै किसिमका कर्मचारीको अभाव छ” रोकायाले भने “कर्मचारी नै नभएपछि नागरिकले सेवा र सुविधा कसरी पाउँछन् ?”
चालु आर्थिक वर्ष शुरु भएको दश महिना बितिसक्यो । तर अदानचुली गाउँपालिकाले यो वर्षका लगि तय भएका सबै योजनाको लागत अनुमान तयार गर्न सकेको छैन । गाउँपालिकामा प्राविधिक कर्मचारी नभएकोले अनुमान तयार गर्न नसकिएको निमित्त कार्यकारी अधिकृत तिलप्रसाद पाण्डेले बताए । “भदौसम्म सक्नुपर्ने लागत अनुमान गर्न सकिएन” पाण्डेले भने, “यसले गर्दा गाउँपालिकाको उपभोक्ता समिति गठन र योजना सम्झौतामा समेत असर परिरहेको छ ।”
अहिले आर्थिक वर्ष सकिनै लाग्दा जिल्ला सदरमुकाम सिमकोटबाटै भएपनि काम चलाउन थालिएको छ । गाउँपालिकाको आग्रहमा जिल्ला समन्वय समितिले आफू ‘मातहतको काममा लागि खाद्यान्न’ भन्ने परियोजनाका प्राविधिक बसन्त रावतलाई लागत तयार गर्न अस्थाई जिम्मेवारी दिएको छ । जसअनुसार रावतले गाउँगाउँमा नगई सदरमुकामबाटै गाउँ गाउँको लागत तयार गरिरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐनमा सरकारले प्रत्येक गाउँपालिकामा इन्जिनियरलाई प्राविधिक शाखाको प्रमुख हुने व्यवस्था गरेको छ । तर हुम्लाका कुनै पनि गाउँपालिकामा इन्जिनियर पुगेका छैनन् ।
खोज पत्रकारिता केन्द्रका लागि