हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा दुई रिपमा रहेको रिप स्वास्थ्यचौकी एक महिना देखि स्वास्थ्यकर्मी विहिन बनेको छ । सात जना कर्मचारीको दरबन्दि रहेको स्वास्थ्यचौकीमा तीन जना कर्मचारी भएपनि सबै आ–आफ्नो कामले जिल्ला बाहिर जादा गाउँमा विरामी हुने सेवाग्राहीलाई सास्ति भएको छ ।
एक जना इन्चार्ज, एक जना अनमी र कार्यालय सहयोगी गरेर तीन कर्मचारी कार्यरत भएपनि सबै आफ्नो निजी कामलाई लिएर अफिसको कामले जिल्ला बाहिर गएको भन्दै पन्छिन खोजेको स्थानीय बताए छन । एक महिना देखि बन्द रहेको स्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै रहेको छ ।
गाउँमा सामान्य विरामी हुँदा सिटामल दिने स्वास्थ्यकर्मी समेत नभेटिने गरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्यचौकी पुगेका विरामीले तीन महिना देखि रित्तो हात लिएर घर फिर्ता हुनु परेको बताइएको छ । रिप गाउँका स्थानीय विरामी हुँदा सामान्य उपचारका लागी कोही साढे तीन घण्टाको पैदल हिडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन, भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयको गुनासो रहेको छ ।
वडा दुई रिप गाउँका स्थानीय मात्रै नभएर वडा तीन उनापानी गाउँका सेवाग्राहीले समेत रिप स्वास्थयचौकीबाट सेवा लिने भएको हुँदा सो गाउँपालिकाका दुई वटा वडाका नागरीकलाई थप समस्या बनाएको छ । स्वास्थ्यचौकी इन्चार्ज घर बनाउनको लागी सुर्खेत गएको र एक जना अनमी आफ्नै काममा व्यस्त रहेको यहाँका स्थानीयले आरोप लगाएका छन् ।
उता स्वास्थ्यचौकी इन्चार्ज चन्द्रसिंह कार्कीले भने, “आफु काम विशेष तराई झरेको अबको एक दुई हप्तामा कार्य क्षेत्रमा फिर्ता हुने र आफु तराइ झरेको दुई हप्ता पछि स्वास्थ्यचौकीमा कार्यरत अनमीको दुई महिनाको तालिम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको इन्चार्ज कार्कीले स्वीकार गरेका छन् ।” गाउँमा यतिबेला विरामीको चाप बढेको छ, वडा र गाउँपालिका मौन बस्नुका साथै यस विषयमा गाउँपालिकाले कुनै वास्ता गरेको छैन् ।