भदौ १०, २०७५
काठमाडौं – भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को शिखर सम्मेलनका क्रममा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १८ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
सुरक्षाकर्मीको परिचालनदेखि खतराको मूल्याङ्कन गर्ने जिम्मा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले पाएको छ । जो सेनाको नेतृत्वमा छ ।
बिमिस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेना पहिलो तथा तेस्रो घेरमा हुने छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुने छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् ।
गृह मन्त्रालय स्रोतका अनुसार बिमिस्टेक सम्मेलनको सुरक्षामा नेपाली सेनाका ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै नेपाल प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
सेनाको गस्ती शुरू
बिमिस्टेक शिखर सम्मेलन हुने मितिभन्दा एक हप्ता अगाडिदेखि नेपाली सेनाले राजधानीमा गस्ती शुरू गरेको छ । सेनाले शिखर सम्मेलन हुने सोल्टी होटेल, रात्री भोज हुने होटेल हायात तथा पशुपतिनाथ क्षेत्रमा गस्ती गरिरहेको छ ।
यस्तै राजधानीका भीडभाड हुने मुख्य क्षेत्र र चोकमा पनि सेनाले गस्ती बढाएको छ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरको सूचनाअनुसार ‘खतरापूर्ण स्थान’को मूल्याङ्कन गरी सेनासहित अन्य सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
राजधानी छिर्ने नाकामा विशेष निगरानी
बिमिस्टेक सम्मेलनलाई लक्षित गरी प्रहरीले राजधानी भित्रिने नाकामा विशेष निगरानी बढाएको छ ।
प्रहरीले राजधानी भित्रिने मूख्य नाका नागढुङ्गासहित साँखु, जगाती, बालाजु, दक्षिणकाली र टोखामा सादा पोशाकका सुरक्षाकर्मीसहित विशेष निगरानी बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
राजधानी आसपासका शहरमा गुप्तचर परिचालन
बिमिस्टेक सम्मेलनलाई लक्षित गरी राजधानी आसपासका ठूलादेखि साना शहरहरुमा समेत गुप्तचर परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सम्भावित सुरक्षा चुनौतीको पूर्वमूल्याङ्कन गरी सूचना संकलनका लागि गुप्तचर निकाय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयका उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
राजधानी आसपाका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायत जिल्लाका सानादेखि ठूला बजारमा गुप्तचर परिचालन गरी सूचना संकलन भइरहेको गृह मन्त्रालयका अधिकारीले बताए ।
यस्तै भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती शहर र राजधानी छिर्ने सडक छेउका बजारमा पनि निगरानी बढाइएको गृह स्रोतको भनाइ छ ।
गुप्तचर निकाय अनुसन्धान विभागले चितवन, हेटौंडा, बुटवल लगायत शहरमा पनि निगरानी बढाएको छ ।
केही देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्ने कार्यक्रम समेत रहेकाले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
होटेलका गेस्टको तथ्याङ्क सुरक्षा निकायमा
प्रहरीले राजधानीका होटेलमा पनि विशेष निगरानी बढाएको छ । राजधानीका तारेदेखि स–सना होटेलसम्मलाई प्रहरीले निगरानीमा राखेको छ ।
प्रहरीले शनिवार (९ गते)देखि राजधानीका सबै होटेलमा पुगेर होटेलमा आउने गेस्ट (अतिथि)हरूको सम्पूर्ण विवरण जुनसुकै बेला पनि उपलब्ध गराउनुपर्ने भन्दै सर्कुलर जारी गरेको छ ।
होटेलमा बस्न आउने सबै ग्राहकको फोटोसहितका परिचयपत्र साथमा राखेर मात्रै बस्न दिन प्रहरीले होटेल व्यवसायीलाई सर्कुलर जारी गरेको छ । होटेलमा कुनै शंकास्पद व्यक्ति आएमा तुरुन्त खबर गर्न भनेर हटलाइनको व्यवस्था समेत गरिएको प्रहरीले जनाएको छ ।