काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज (सोमबार) विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ । योसहित आज क्वाँटी खाने पनि चलन छ । यस्तै, संस्कृत दिवस र विश्व फोटोग्राफी दिवस पनि आजै मनाइँदै छ ।
जनै फेर्ने दिन
हिन्दू धर्मावलम्बीहरूले आज जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदै छन् । जनै लगाउनेहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यसैदिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राहृमण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रही आएको छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राहृमण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको सांगे (समाप्ती) को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ ।
यसदिन स्नान गरी सप्तऋषिसहित ब्रहृमा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
यो दिन काठमाडौंको पशुपतिनाथ र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रूपमा मनाउँछन् ।
साढे १ बजेपछि मात्रै रक्षाबन्धन बाँध्न समितिको आग्रह
पञ्चाङ्ग निर्णायक समितिले आज परेको जनै पूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन बाँध्न आग्रह गरेको छ । यद्यपि यो आग्रह भने राष्ट्र प्रमुखका लागि भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्राडा. देवमणि भट्टराईले विज्ञप्ति जारी गर्दै आम नागरिकमा उक्त दिन के गर्ने भनेर द्विवधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको जनाउनुभएको छ । आज साढे १ बजेअघि भद्रा परेको र उक्त दिन अन्य कर्म गर्न मिल्ने शास्त्रमा उल्लेख भए पनि रक्षाबन्धनलगायत जनैपूर्णिमासम्बन्धी कर्म गर्दा हानि हुने बताइएको छ । ‘भद्रामा श्रावणीसम्बन्धी काम र होलिका दहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय शास्त्रमा स्पष्ट उल्लेख छ’, समितिको विज्ञप्तिमा भनिएको छ । त्यसैले, राष्ट्र प्रमुखले भने उक्त दिन साढे १ बजेपछि मात्रै जनैपूर्णिमा र रक्षा बन्धनको कार्य गर्न भनिएको छ ।
तराई मधेश क्षेत्रमा ‘राखी’ बाँधिँदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदी बहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदी बहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ । पर्वका लागि दिदी बहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदी बहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्दछन् । मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ–दिदी बहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अंग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।
क्वाँटी खाने दिन
आज जनैपूर्णिमा सँगै घरघरमा क्वाँटी खाने प्रचलन रहेको छ । क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी छ । पछिल्लो सयम सबै समुदायमा यसको लोकप्रियता बढेको छ । क्वाँटी विभिन्न एघार किसिमका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार गरिन्छ । मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टी भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ । बर्खाको समयमा खेती किसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ । केराउ, चना, मुगी, मास, सिमी, भटमास लगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।
विश्व संस्कृत दिवस
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पु¥याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो । श्रावण शुक्ल पूर्णिमा ऋषिहरूसँग जोडिएको ऋषि तर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसैदिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुवात गरिएको हो । संस्कृतलाई सबैभन्दा पुरानो भाषाका रूपमा लिइन्छ ।
विश्व फोटोग्राफी दिवस
आज विश्व फोटोग्राफी दिवस पनि मनाइँदै छ । हरेक वर्ष अगष्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रूपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रूपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गर्छ । नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।