सिमकोटमा खानेपानी समस्या बढ्दैः स्थानीयको विवादले चार वर्षदेखि खानेपानी आयोजना अलपत्र (भिडियोसहित)
सिमकोट । सिमकोट ५ तल्लो गाउँकी हाँसु परियारले २ वर्ष अघि आप्mनो घरमा सिमकोट खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानीको धारा जडान गर्नुभयो । सिमकोट तल्लो गाउँका नागरिकले परम्परागत रुपमा खादैं आएको पुन्याराको मुहानको पानी सुक्दै जान थालेपछि उहाँले उपभोक्ता समितिमा ६ हजार रुपैयाँ धरौटी राखेर धारा जडान गर्नुभएको हो । आर्थिक अवस्था निकै कमजोर भएकी परियारले धारा जडान गर्न आउने प्राविधिकलाई थप एक हजार रुपैयाँ पनि तिर्नुभयो ।
नयाँ धारो जोडेको २ महिनासम्म हाँसुको धारोमा राम्रै पानी आयो । त्यपछि धारोमा पानी कम हुदैं २ महिनापछि ठप्पै भयो । निकै पटक हाँसुले धारोमा पानी छोड्न आग्रह गर्दै सिमकोट खानेपानी उपभोक्ताको कार्यालय धाउनुभयो । अन्तमा कुनै सिप नलागेपछि छिमेकको घरमा आउने धारोको पानीले घरमा चलाइरहनु भएको छ ।
सिमकोट माथिल्लो बजारको सूचना टोलमा भएको जसबहादुर महताराको घरमा २०६५ सालमा खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको धारामा जडान गरियो । २०६८ सालसम्म राम्रै पानी आयो । २ वर्षपछि पानी नआएपछि महताराले समितिमा अनेकन हार गुहार गर्नुभयो । समितिमार्फत केहि प्राविधिकहरु पनि आए । धारो हेरेर गए । उनिहरु आएको एक सातासम्म राम्रो पानी आउने तर त्यसपछि फेरि बन्द हुने समस्याले महताराको परिवार आजित भयो । एक वर्षसम्म कहिले आप्mनै धाराको पानी त कहिले छिमेकीको धाराको पानीले काम चलाएका महताराको घरमा २०६९ साल असार १ गते रेडियो कर्णाली आवाज भाडामा सरेपछि उक्त धारो पूर्ण रुपमा बन्दभयो । रेडियोले संस्थागत रुपमा नयाँ धारोको नाममा ६ हजार धरौटी जम्मा गरेपछि नयाँ पाइपलाइन जोडियो । केहि समय राम्रै पानी आएपनि धाराको नियती अन्य धाराको भन्दा पृथक भएन ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तल्लो गाउँकी हाँसु र माथिल्लो बजारका जसबहादुरको पानी नआउने धारा सिमकोट खानेपानी उपभोक्ता समितिले जडान गरेका ४ सय ४५ वटा खानेपानीका धाराका नमुना मात्र हुन् । बढ्दो जलवायू परिवर्तनको असरका कारण विकल्पका रुपमा अघि सारिएका सिमकोट खानेपानीका मुहानको पानी सुक्दै गएपछि समितिले वितरण गरेका धाराहरुमा प्रयाप्त पानी गएको छैन् ।
घरमा धारो जडान गरेको भएपनि पानी नआउने समस्या सिमकोटका प्रायः घरले भोगिरहेका छन् । धारो जडान गरेका ६ महिना वर्ष दिन राम्रै पानी आउने त्यसपछि बिस्तारै कम हुदैं ठप्प हुने समस्या सिमकोट खानेपानीको पुरानै रोग भएको तल्लो गाउँकी बाँचु परियारको भनाई छ । ‘घरमा धारा जोडेको दुई वर्ष राम्रै पानी आयो । २ महिना पुग्ने वित्तिकै कम हुँदै गएको पानीको धारामा एक वर्षपछि ठप्पै भयो । पानी फिटिक्कै आउदैन्’, उनले भनिन्, ‘ पानी नआएपछि हामीले छिमेकीको घरको धाराबाट ल्याएर काम चलाउने गरेका छौं । ’
खाना पकाउन र पिउने छिमेकीको धाराबाट ल्याएर काम चलाउने गरेकी बाँचुले कपडा धुन कहिले हुमाने खोला त कहिले तिनधा जाने गरेको प्रतिक्रिया दिइन् ।
‘धारा जोड्दा ६ हजार धरौटी राख्यौं । धारो जोड्नेकन (जोड्न आउनेलाई) एक हजार रकम तिरेका थियौं । पानीको धारा जोडेदेखि महिनाको ५० रुपैयाँ शुल्क हुन्छ भन्छन् । त्यहि अनुसार हामीले पानी नआउने धाराको नियमित रकम तिरिरहेकै छौं । तर पानीको थोपा पनि धारोमा चुहेको देख्न सकिरहेका छैनौं’ बाँचुले थप्नुभयो ।
बिहान ६ देखि १० बजेसम्म र वेलुका ३ देखि ६ः३० सम्म पानी छोड्ने तालिका सिमकाट खानेपानी उपभोक्ता समितिको छ । समितिले निर्माण गरेका पानी ट्यांकीमा जम्मा भएसम्मको पानी ग्राहकलाई पठाउने गरेपनि पानी नआएको गुनासो कहिल्यै नरोकिएको उल्लेख गर्नु भएका समितिका सदस्य तथा अपरेटर लोकमणी रावतले भन्नुभयो, ‘२०४५ सालदेखि भर्खर वितरण गरेका पानीका लाइनहरु छन् । कुनैमा प्वाइनट नै नभेटिने समस्या पनि छ । त्यसले कुनै धारामा पानी नजाने समस्या छ । ठूलो समस्या त खानेपानीको मुहान सुक्दै गएर नै हो ।’
‘मुहानमा पानीको स्रोत घट्दै गएको छ । पानी कम हुँदा ट्यांकीमा पनि कम पानी जम्मा हुने हो । पानी हाम्रो ट्यांकीमा जति जम्मा हुन्छ त्यति नैं हामीले ग्राहलाई वितरण गरेका धारमा छोडेकै छौं । अरु त हामीले कहाँबाट ल्याएर वितरण गर्नु ? हामीलाई पनि त समस्या छ’ रावतले थप्नुभयो ।
दुई मुहानको विकल्पः तर समस्या उस्तै
परम्परागत रुपमा सिमकोटका दुई गाउँले नजिकैको मुहानबाट पानी खाने गर्थे । माथिल्लो सिमकोटको लादेबाडाले मुग्राधाराको पानी र तल्लो सिमकोटको खाद्यकले पुन्यारा र सिमको पानी खाने गरेका थिए । २०३४ साल सिमकोटमा विमानस्थल बनेपछि अन्यत्रका वासिन्दाहरुको वसोवासको रोजाई सिमकोट हुन पुग्यो । पानीका प्रयोगकर्ताको संख्या बढेपछि क्रमशः सिमकोटको खानेपानी अभावको समस्या शुरु भएको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाका प्रमुख ज्वालाराज शाही बताउनुहुन्छ ।
उहाँका अनुसार २०३४ सालपछि पञ्चायतकालिन अवस्थामा सिमकोट खानेपानी आयोजनाका रुपमा भएका मुहानको व्यवस्थापन गर्ने काम भयो । पछि २०५४ साल पश्चात सिमकोट खानेपानीको सबै जिम्मा सिमकोट खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
‘मुग्राधारा, पुन्यारा र सिमको मुहानले नथेगेपछि नजिकै हुमाने खोलाको मुहानबाट पाइपलाइनमा सिमकोट ल्याएर वितरण गर्ने काम भयो’, सिमकोट खानेपानीमा राम्रो जानकार शाहीले भन्नुभयो, बढ्दो उपभोक्ताको संख्या र घट्दो पानीको मुहानका कारण २०६० को दशकमै उक्त मुहान पनि अप्रयाप्त हुन थाल्यो ।’
घरघरमा जडान भएका धारामा पानी वितरण गर्ने प्रर्णाली र आयोजनाको व्यवस्थापन प्रभावकारी नभएको स्विकार गर्नु भएका शाहीका अनुसार दोस्रो विकल्पका रुपमा लामो अध्ययन र सर्भेक्षणले बुराउँसे माथिको स्याल्तर खोलाको मुहानबाट पानी ल्याउने योजना अघि सारियो । शुरुका केहि वर्ष सबै धारोमा राम्रो पानी गएको उल्लेख गर्नुभएका शाहीले २०७० पछि उक्त मुहानले पनि पानी पुग्न छोड्यो ।
‘देशकै शिर्ष सदरमुकाम भएकाले चिसो पनि त्यस्तै बढि नैं छ । चिसोका कारण दिनको थोरै मात्र समय पानी नछोड्ने हो भने पाइपमै बरफ जमेर लाइनमा पानी नजाने समस्याका कारण निरन्तर पानी छोड्नु पर्ने बाध्यता सिमकोटमा छ’, कार्यालयका प्रमुख शाहीले थप्नुभयो, ‘हामीले पानी वितरण गर्ने मिटर प्रर्णाली लागु गर्न दुई पटक प्रयास पनि गर्र्यौ । जाडोका कारण त्यो प्रयास सफल हुन सकेन । त्यसपछि निरन्तर पानी छोड्दा सबैतिर अपुग भएको देखिन्छ ।’
सिमकोट खानेपानीको व्यवस्थापन, वितरण र मर्मतको जिम्मा लिएको सिमकोट खानेपानी उपभाmो समितिले भने पानी नपुग्ने दोष ग्राहकमाथि नैं थोपर्दै आएको छ । समितिले शुरुदेखि अहिलेसम्म वितरण गरेका धाराका ग्राहकले पानीको आप्mनो धारा खुल्ला छोड्ने, पानीको प्रयोगमा मितव्ययीता नअपनाएका कारण अलिहेको समस्या निम्तिएको समितिका अध्यक्ष कर्ण भण्डारीको दावी छ ।
आप्mनो कार्यकालमा पानी ट्यांकी मर्मत देखि निर्माणका थुप्रै काम गरेको प्रतिक्रिया दिनु भएका भण्डारीले ग्राहकहरुले ख्याल गर्ने हो भने सिमकोटमा पानीको अभाव आधा भन्दा बढि हल हुने ठोकुवा गर्नुभयो ।
‘मुग्राधाराको विकल्प हुमाने खोला रोज्यौं । त्यसले पनि माग अनुसार पानी पुगेन । हुमानेको विकल्पका रुपमा हामीले स्याल्तर खोलाको मुहानलाई रोज्यौं’, समितिका अध्यक्ष भण्डारीले भन्नुभयो, ‘त्यो मुहानको पानी पनि सुक्दै गयो, सिमकोटको वस्तीपनि बढ्दै गएपछि फेरि अभाव बढ्यो ।’
अन्तिम विकल्पको मुहना हेप्काः तर विवादले काम ठप्प
जिल्लामा बढ्दै गएको सुख्खापन, गाउँगाउँमा डोजरले बाटो काट्न थालेपछि अन्यत्रको जस्तो स्याल्तर खोलाको मुहनाको पानीपनि सुक्दै गयो । उता मुहानको पानी सुकेर कम भयो तर सिमकोटमा धारा जडान गर्ने उपभोक्ताको संख्या बढ्दै गयो । समितिले खानेपानीको मुहानको जुगाड गरेन तर माग बमोजिम धारा थप्दै गएपछि सिमकोट खानेपानीको समस्या थप चुलियो । समितिले जडान गरेका धारामध्ये आधा भन्दा धेरैमा पानी नआएपछि उपभोक्ताको गुनाशो तत्कालिन खानेपानीको कार्यालयमै आउने गर्यो । तत्कालिन खानेपानी कार्यालय प्रमुख समेत रहेका ज्वालाराज शाहीले भन्नुभयो, ‘त्यसपछि जिल्लाका राजनीतिक दल, खानेपानीसँग सरोकार राख्ने निकाय र स्थानीय तहहरुसँगको परामर्शमा २०६८ सालतिर हामीले अन्तिम विकल्पको रुपमा हेप्का खोलाको पानी सिमकोट ल्याउन वृहत सिमकोट खानेपानी आयोजनाको अवधारणा अघि सा¥र्यौ ।’
हेप्का खोलाको पानीको मुहान धेरै पटक हेर्ने, सर्भे गर्ने काम सकेर जिल्लाबाट वृहत सिमकोट खानेपानी आयोजनाका रुपमा अघि सारेको उल्लेख गर्नुभएका शाहीले त्यसपछि खानेपानी तथा ढल निकास विभागले थप काम अघि बढायो ।
तत्कालिन हेप्का गा.वि.स र हालको नाम्खा गाउँपालिका १ अन्तरगतको हेप्का गाउँको पारिपट्टिको जंगलमा रहेको उक्त मुहान गाइवस्तु र सिंचाईकालागि प्रयोग हुदैं आएको छ । खेतबारी र गाउँवस्तुका लागि सामान्य रुपमा प्रयोग हुने भएपछि सिमकोटकालागि तेस्रो विकल्पका रुपमा अघि बढाइयो । तत्कालिन समयमा हेप्का गा.वि.स.को जिम्मा लिएका सचिव र केहि अगुवाहरुसँगको परामर्शमा आयोजनाको काम अघि बढाइयो । उक्त खानोपनीको लाइन तत्कालिन डाँडाफया गाविस सिमकोट ७ डाँडाफयाको ओख्रेन सामुदािय वनको बाटो भएर ल्याउने सर्भे गर्ने काम भयो ।
विवादले १२ महिना बिलम्ब
२०६८ सालमा अघि बढाइएको हेप्का मुहानको पानी सिमकोट ल्याउने आयोजना कार्यान्वयनमा ल्याउन झण्डै एक दशक लाग्यो । देशको नयाँ संरचना अनुसार तत्कालिन खानेपानी कार्यालय प्रदेश सरकार मातहतको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमा रुपान्तरित भयो । त्यसको फलोअप गर्ने कामले पनि निरन्तरता नपाएपछि अपेक्षित रुपमा आयोजना कार्यान्वयनमा आउन ढिला भयो ।
२०७८।७९ देखि कार्यान्वयनमा आएको आयोजना अँझै सम्पन्न भएको छैन् । संघीय सरकारको १३ करोड लागतमा कार्यान्वन अघि बढाइएको आयोजना निर्माणको जिम्मा काठमाडौंको ठेक्का कम्पनी एएम धुलीखेल प्याराडाइजले पायो । २०७८ कार्तिक २५ गते सम्झौता भएको आयोजना २४ महिना अर्थात २ वर्षमा सम्पन्न गर्नुपर्ने समयसिमा तोकियो । तर आयोजनाको मुहानमा नाम्खा १ को ताङ्गिन, हेप्काका स्थानीय वासिन्दाले र पाईप लाइन लिने बारे सिमकोट ७ को डाँडाफयाका वासिन्दाको बिरोधले निर्धारित मितिमा काम सकिएन । आयोजना सम्पन्न हुने मिति १२ महिना सकियो अँझै आयोजना सकिने कुनै संकेत देखिदैन् ।
२०८० साल कार्तिक २४ गतेसम्म आयोजनाको काम आधापनि नसकिएपछि विभिन्न कारण खुलाई एक वर्षको निर्माण अवधी थपेर काम सम्पन्न गर्ने जिम्मा एएम धुलिखेल प्याराडाइजलाई नैं दिइयो । यस अवधीमा विवाद समाधानकालागि धेरै पटक जिल्ला प्रशासन कार्यालय, सिमकोट गाउँपालिका, सिमकोट खानेपानी उपभोक्ता समिति र जिल्लाका राजनीति दलहरुलाई निर्माण कम्पनी अनेकन अनुरोध ग¥यो तर कतैबाट सहयोग नपाएको कम्पनीका प्रतिनिधि अमर लामाले बताउनुभयो ।
‘निर्धारित मितिमा काम सम्पन्न गर्न मैले सबैलाई बोलाएँ तर कसैले पनि सहयोग गरेनन् । आप्mनो सामुहिक खेतीको सिंचाई गर्न र पशुवस्तुलाई पानी खुवाउने मुहान भएकाले लिन दिन हुदैंन भन्ने बिरोध नाम्खाको ताङ्गिन र हेप्काबाट भयो’, लामाले दुःखेसो गर्दै भन्नुभयो, ‘सामुदायिक वन क्षेत्रका रुख कटान हुने, जग्गामा मासिने भयो भनेर डाँडाफयाका नागरिकले निकै चर्को बिरोध गरे । सहमती ल्याउन मैले सबैको खुट्टा समेत मोले तर समयमा काम सकाउन सकिन ।’ आफूले गरेको कामको प्रगती र समाधानको पहललाई आधार मानेर कार्यालयले आयोजना सम्पन्न गर्ने २४ महिने समयमा एक वर्ष समय थपेको प्रतिक्रिया दिनुभएका लामाले हुम्लाको स्थानीय परम्परा अनुसार आफू ताङ्गिन, हेप्का र डाँडाफयावासीलाई खसी समेत राख्न तयार भएको बताउन्ुभयो ।
‘म पनि हुम्लाकै नागरिक हुँ । सिमकोटमा ताङ्गिन, हेप्का, डाँडाफयाकाले पनि घर बनाएर बसेका छन् । सबैलाई खानेपानी आवश्यक पर्छ । आयोजना व्यक्तिगत होइन सरकारी हो । यो सबैका लागि काम लाग्छ, सबैलाई सुबिधा हुने कुरा गरेपछि अन्तमा सबै सहमतीमा आउनु भयो तर बिडम्बना बारीमा बाली लगाएकाले लाइन खन्ने काम अघि बढाउन सकिएन । फलस्वरुपः आयोजनाको थप एक वर्षको अवधीमा पनि काम सम्पन्न भएन’ निर्माण कम्पनीका प्रतिनिधि लामाले भन्नुभयो ।
आयोजनाको डिपिआर बनाउने देखि बिस्तृत सर्भे गर्ने क्रममा कुरा नउठाएका हेप्का, ताङ्गिन र डाँडाफयाका नागरिकले आयोजनाको कार्यान्वयनमा बिरोध गरेकाले पनि काम सम्पन्न गर्न समस्या भएको तर्क निर्माण पक्षको छ । तर आयोजनाको मुहान क्षेत्रका नागरिकले पानीको केहि स्रोत संरक्षित गरेर छोडेपछि सहमती जनाउने संकेत गरेका छन् । निर्माण व्यवसायीका तर्फबाट अमर लामा जि हाम्रो बौद्ध धर्मको परम्परा अनुसार अनुरोध गर्न आएपछि हामी सबै मिलेर सिमकोट खानेपानीको मुहानको विवाद नगर्ने सहमती लगभग गरेको एक स्थानीयले प्रतिक्रिया दिए । नाम्खा गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिसमेत रहेका उहाँले आप्mनो नाम उल्लेख नगर्न आग्रह गर्दै भन्नुभयो, ‘हाम्रो गाउँमा शुरुमा केहि समस्या थियो । हेप्का र ताङ्गिनका पनि दुई थरी कुरा थिए । अब सबै कुरामा सहमती जनाएर आयोजनाको काम अघि बढाउन दिने निष्कर्षमा हामी पुगेका छौं । तर ठेकदार कम्पनीसँग हाम्रो केहि शर्त छ ।’
मुहानको विवाद लगभग सुल्झीएपनि पाइप लाइन खन्ने ठूलो भू–भाग रहेको सिमकोट ७ डाँडाफयाको ओख्रेन सामुदायिक वनभने अँझै आप्mनो मागबाट पछि हटेको छैन् । तल गाउँ माथि सामुदायिक वन भएको ओख्रेनमा आयोजनाको पाइपलाइन लिन डोजर लगाएर लाइन खन्ने स्टमेट छ । त्यसले ढुंगा र माटो खस्दा एकतर्फ तलको गाउँलाई निकै ठूलो जोखिम हुन्छ भने अर्कोतर्फ लेखमा भएको आप्mनो उत्पादनशिल जग्गापनि मासिने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहले जानकारी दिनुभयो ।
‘सामुदायिक वन क्षेत्रमा कम्तीमा ५ सय रुख कट्नुपर्ने छ । ठूलो जग्गा जाने छ । तर पनि हामीले सिमकोटमा खानेपानी लिनदिनु हुदैन भनेका छैनौं’, समितिका अध्यक्ष सिंहले थप्नुभयो, ‘हामीले केवल आयोजनाको काम गर्दा कटान भएका रुखहरुको सट्टामा नयाँ रुख रोप्ने, पाइपलाई खन्दा तलको गाउँलाई हुन संभावित जोखिमका लागि ग्याविन पर्खाल लगाउने र जग्गा गएका स्थानमा क्षतिपूर्ति दिएमा हाम्रो अरु कुनै अवरोध हुदैन् ।’
ओख्रेन सामुदायिक वन उपभोक्ता समितिको माग पुरा गर्न खानेपानी तथा ढल निकाय सव डिभिजन कार्यालय जुम्ला र निर्माण कम्पनी तयार छैन् । आयोजनाको सर्भे र डिपिआर तयार गर्दा केहि नबोलेका स्थानीयलाई अहिले आयोजनाको कामगर्न निश्चित बजेटमा केहि गर्न नसकिने तर्क कार्यालयका सवइन्जिनियर डम्बर बहादुर शाहीको छ ।
सिमकोट गाउँपालिकाको अघिल्लो कार्यकालका अध्यक्ष पदमबहादुर लामा र उपाध्यक्ष बली रावतसहितको टोली डिपिआरमा समेत संलग्न हुँदा कहिकतैबाट क्षतिपूर्तिको कुरा नआएको उल्लेख गरेको निर्माण कम्पनीका प्रतिनिधि अमर लामा आफूलाई अहिले अनावश्यक दुःख दिएको जिकिर गर्नुहुन्छ ।
प्रकृतिक स्रोतमा कसैको पनि एकाधिकार नहुने उल्लेख गर्दै पानीको मुहान, सामुदायिक वन र सिमकोट खानेपानी आयोजना सबै सरकारकै स्वामित्वका सम्पत्ति भएकाले यो विषय सरकार र सरकारका अधिकारीहरुले निरुपण गर्नुपर्ने तर्क लामाको छ ।
दोस्रो पटक म्याद थप्ने तयारीः काम सम्पन्न हुनेमा अँझै संका
शुरुको २४ महिनामा आधा मात्र काम नसकिएपछि थप १२ महिनामा आयोजनाको धेरै काम सकिएको जिकिर निर्माण पक्षले गरेको छ । पहिलो पटक थपेको १२ महिना आगामी २०८१ कात्र्तिक २५ गतेसम्म सकिदैछ । उक्त समयमा पनि काम सकिएन । विभिन्न समुहहरुसँगको छलफल पश्चात आयोजनाका निर्माण सामाग्रीको खरिद ढुवानी र टयांकी, च्याम्बर निर्माणका काम थप समयमा सम्पन्न भएको दावी निर्माण कम्पनीको छ । कुनै समुह र समुदायले विवाद नगर्ने हो भने अबको एक महिनामा सबै काम सक्ने तयारी ठेकदार कम्पनीले गरेको छ ।
‘अब धेरै काम छैन् । डाँडाफयाको ओख्रेनमा पाइपलाइन खन्ने, सिमकोट रानीवनमा पाइप लाइन दिने काम बाहेक प्रायः काम सकिएको छ’, कम्पनीका प्रतिनिधि लामाले भने, ‘जिल्लाका कामदारबाट काम ढिला हुने भएपछि हामीले बाजुरा, कालिकोट लगायतका जिल्लाबाट कामदार ल्याएर काम गर्ने तयारी गरेका छौं । राम्रोसँग का मगर्न दिए ढिलोमा एक महिना भित्रमा सबै काम सकिन्छ ।’
दोस्रो पटक थप गरेको समयमा आयोजनाको काम पुरा हुने छाँट नदेखिएपछि ठेकदार कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया बढाइसकेको छ । निर्माण कम्पनीले थोरै काम बाँकी रहेको प्रतिक्रिया दिएपनि पाइपलाइन खन्ने देखि अन्य थुप्रै काम बाँकी छ । कसैले बिरोध नगरेको खण्डमा आफूले यहि कार्तिकसम्ममा सबै काम सम्पन्न गर्ने प्रतिक्रिया निर्माण बम्पनीले दिदैं आएको छ । यद्यपी काम नसकिने निष्कर्षसहित दोस्रो पटक तीन महिनाको म्याद थपको प्रक्रिया लगभग अन्तिम चरणमा छ । आयोजनाले दोस्रो पटक म्याथ थपे कानून अनुसार तीन महिना अर्थात माघ २५ गतेसम्मको समय पाउने निश्चित जस्तै भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जानएको छ । यद्यपी विभागका कर्मचारी मार्फत आयोजनाको सबै जानकारी राखेको विभाग थपिएको तीन महिनामा आयोजना सम्पन्न हुनेमा आफै ढुक्क छैनन् ।
‘मुहानदेखि चुहानसम्म निकै धेरै विवाद छ । विवाद समाधानका लागि स्थानीय प्रशासन, स्थानीय सरकार देखि सरोकारवालाले खासै चासो देखाएको देखिदैन्’, विभागका प्रवक्ता समेत रहनु भएका उपमहानिर्देशक रामचन्द्र काफ्लेले भन्नुभयो, दोस्रो पटक थप भएको समयमा आयोजनाको काम सकियोस् भन्ने कामना हाम्रो हो । हामी त्यही अनुसार प्रक्रिया अघि बढाइरहेका छौं ।’
आयोजनाले डाँडाफयाका वासिन्दासँगको विवाद राम्रोसँग समाधान नभएकाले पाइन खन्न दिनेमा आफूहरुको सहमती नभएको ओख्रेन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँको भनाइले पनि आयोजनाको दोस्रो पटक थपिने ३ महिना समयले काम सकिने संकेत देखिदैन् ।
आफूले हात झिक्ने निर्माण कम्पनीको चेतावनी
आयोजनाको दोस्रो पटक थपिने म्यादमा पनि काम नसके आफूले सिमकोट खानेपानी आयोजनाबाट हात झिक्ने निर्माण कम्पनीका प्रतिनिधि अमर लामाले चेतावनी दिनुभएको छ । खानेपानीका लागि आफू हदैसम्मको पहल र मेहनत गरेको जिकिर गर्नुभएका लामाले ८० प्रतिशत भन्दा बढि काम सकेकोले अब पनि सबै विवाद समाधान भएन काम नसकिए सरकारलाई बुझाउने प्रतिक्रिया दिनुभयो ।
’खानेपानी तथा ढल व्यवस्पान विभाग देखि जुम्लाको कार्यालयलाई पनि हाम्रो कामका बारेमा जानकारी छ । अरु कुनै निकायले पनि समाधानको पहल नगर्ने तर निर्माण कम्पनीलाई मात्रै सबैले दोष दिने प्रवृति दोहोरिने हो भने अब हामीले पनि सकिदैन भनेर हात ठाडो पार्नु बोहकको अन्य विकल्प बाँकी रहेन‘ लामाले थप्नुभयो ।
बढ्दो जनसंख्याको चापले सिमकोटको वस्ती बाक्लीदै जानु, विद्यमान पानीका मुहान सुक्दै जाने तर अन्तिम विकल्पका रुपमा अघि सारिएको सिमकोट वृहत खानेपानी आयोजना सम्पन्न नहुने हो भने सिमकोटको खानेपानी समस्या निकट भविष्यमै थप जटिल बन्ने तर्क जानकारहरुको छ । प्राकृतिक स्रोतमाथिको अग्राधिकार भएपनि एकाधिकार कुनैपनि समुदाय, व्यक्तिले गर्न नहुने उल्लेख गर्नु भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ्ग खानेपानी बाटो, वनजंगलको स्वामित् सरकारको हुने भएकाले त्यस्ता विवादको समाधानमा सरकार (स्थानीय र संघीय)ले अग्रसरता देखाउनु पर्ने सुझाव दिनुहुन्छ ।
यो रिर्पोट युरोपियन युनियन र सिडा र इन्टर न्यूज अर्थ जर्नालिजम नेटवकसँगको सहकार्यमा तयार पारिएको हो ।