नेभिगेशन
समाज

इलाका प्रशासन रहेको सर्केगाडको झोलुङ्गे पुल जीर्ण बन्दै 

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारको कर्णाली नदीमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै जाँदा आवतजावतमा समस्या बढ्दै गएको स्थानीयले बताउने गरेका छन् । 

   २०४० सालमा निर्माण भएको उक्त नदीको झोलुङ्गे पुल मर्मतका लागि कोही कसैले चासो नदिँदा जीर्ण बन्दै गएको स्थानीय तथा साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताउनुभयो । सर्केगाड झोलुङ्गे पुलको दाँया तर्फको जाली र लठ्ठा अडाउने पोल नभएको कारण आवत जावतमा थप जोखिम बढ्दै गएको पालले बताउनुभयो । गाउँपालिका, सम्बन्धित सरोकारवाला निकायले पुल संरक्षण तथा मर्मतका लागि चासो नदेखाएको स्थानीयबासिन्दाको गुनासो छ ।

   यो पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थीले आवतजावत गर्नुका साथै इलाका प्रशासन कार्यालय सर्केगाडमा कार्यरत कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालय कर्मचारीका साथै अन्य सेवाग्राही स्थानीयबासिन्दाहरुले दैनिकरुपमा आवतजावत समेत गरिरहेका छन् । झोलुङ्गे पुल मर्मत संभारमा समयमै ध्यान दिनु पर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीय बताउने गरेका छन् । यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिण भेगका चारवटा गाउँपालिकाका सेवाग्राहीले सेवा लिन दैनिक आवतजावत गर्ने गरेका छन् । 

   विभिन्न पार्टी, संस्था र सरोकारवाला निकायले सदरमुकाम सिमकोटपछिको दोस्रो ठूलो बजार सर्केगाडमा विभिन्न अभियान, कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि पुल मर्मतमा कसैको ध्यान जान नसकेको हो । यस्तै पुलका विचमा काठ मात्रै रहेको छ । त्यहि अधिकांस काठपनि कुहिन लागेको स्थानीयले बताउने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्