नेभिगेशन
समाज

कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान

सिमकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रेका लागि पहिलो पटक ठेक्का आव्हान भएको छ । सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते ठेक्का आव्हान गरेको हो । कार्यालयले २ पिस गरेर ठेक्का गरेको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले बताउनु भएको छ । बाजुराको पिलिचौर देखी बाजुराको कुवाडी सम्म २३ किलोमिटर ७ सय मिटर र कुवाडी देखी हुम्लाको सर्केगाँड गाउँपालिका १ तुम्चा सम्म २७ किलोटिमर ३ सय मिटर गरि ५० किलोमिटरको ठेक्का गरेको शर्माले बताउनु भयो । दुबैपिस गरेर ४ अर्ब २३ करोडमा ठेक्का गरेको छ । तिन बर्षमा काम सक्ने गरि ठेक्का आव्हान भएको हो । कर्णाली करिडोरको यो क्षेत्र कालिकोटको खुलालु देखी बाजुरा हुदै हुम्लाको सरिसल्ला सम्म १ सय २३ किलोमिटर रहेको छ । यो सडकको ट्रयाक भने नेपाली सेनाले खोलेको थियो ।
यो बर्ष ५० किलोमिटर कालोपत्रेका लागि ठेक्का भएको र अर्को बर्ष कालिकोटको खुलालु देखी बाजुराको पिलिचौर सम्म ६० किलोमिटरको ठेक्का गर्ने भएको छ । गतबर्ष ६० किलोमिटर सडक सुधारका लागि ठेक्का गरेर काम भइरहेकाले यो बर्ष अगाडि भाग कालोपत्रेका लागि ठेक्का गरिएको छ । यो सडक खण्डको बाँकि रहेको हुम्लाको तुम्चा देखी सरिसल्ला सम्मको १३ किलोमिटरको पनि ठेक्का आगामि बर्षमा गर्ने कार्यालयले जनाएको छ । यो सडक सरकारले गौरबको आयोजना सँगै त्रिदेशीय मार्गका रुपमा लिएको छ । यो मार्गले दक्षिणमा भारत र पश्चिममा चिन छुने भएको छ । सडक २०६४ सालमा कालिकोट—हुम्ला—जुम्ला सडक आयोजनाले शुरु गरेको थियो । काममा ढिलासुस्ति हुने भएपछि यो सडक निर्माणको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । सेनाले २०७१ सालको चैत महिनाबाट शुरु गरेको थियो । लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले ट्रयाक खोली सकेपछि २०८० पुष १५ गते सडक बिभागलाइ कालिकोट खुलालु देखी १ सय १२ किलोमिटर जिम्मा दिएको थियो । ११ किलोमिटरमा भने अहिले पनि सेनाले काम गरिहेको छ । सडक बिभागलाई सेनाले जिम्मा लगाएपछि सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना नामाकरण दिएर सडक स्तोरउन्नती सँगै कालेपत्रेको काम शुरु गरेको हो । सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्ला, कालिकोट र बाजुराको बिचमा दर्जनौ चट्टान फोरिँदै छिचोलेर कर्णाली करिडोर बाटो निर्माण गरेको हो । अहिलेपनि हुम्ला आउने एक मात्रा सडक बाटो यहि कर्णाली करिडोर हो । कर्णाली करिडोर सडकको निर्माण तथा स्तरउन्नोतीको गतिले हुम्ला, बाजुरा कालिकोट र मुगुका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, निकै खुसियाली पनि ल्याएको छ ।
चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको हुम्ला दक्षिणी भेग सहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडक निर्माणको गतिले आशा जगाएको छ  । यस सडकलाई बाँके तथा नेपालगञ्जको रुपडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य रहेको छ । यो सडक मार्ग बाटै शुदुर पश्चिम र कर्णाली प्रदेश क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास लिइएको छ । यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य 
हेतु यही सडक हुने देखिएको छ । सडकले तिब्वत स्थित मानसरोवर, कैलाश पर्बत, लिमि उपात्यका लगायतका क्षेत्रको यात्रालाई सहज बनाएको छ भने करिडोरका बिच बिचमा कर्णाली नदि माथि निर्माणा धिन र निर्माण कार्य सम्पन्न भएका बेलिब्रिजले समेत रारा जान सहज बनाइ दिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्