सिमकोट । हुम्ला आउँदो जेठ नौ गते साक्षर जिल्ला घोषणा हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको र हुम्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भएकोले आउने जेठ नौ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको हो ।
विहिबार विहान शिक्षा विकास तथा समन्वय इकाई समितिको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदन्ड र शर्तहरु पुरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
हुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ३५ हजार ३ सय ५४ जनसंख्यामध्ये ३३ हजार ९ सय ५४ अर्थात ९६.०४ प्रतिशत साक्षर भएपछि घोषणा गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताउनुभयो । इकाई प्रमुख आलेका अनुसार, हुम्लाका सातवटै स्थानीय तहमा नाम्खा गाउँपालिका ९६.१६ प्रतिशत, सिमकोट गाउँपालिका ९५.६ प्रतिशत, खार्पुनाथ गाउँपालिका ९५.५ प्रतिशत, सर्केगाड गाउँपालिका ९५.७४ प्रतिशत, चंखेली गाउँपालिका ९५.२४ प्रतिशत, अदानचुली गाउँपालिका ९५.२८ प्रतिशत र ताँजकोट गाउँपालिका ९८.२८ प्रतिशत नागरिक साक्षर भएको बताउनुभयो ।
साक्षर नेपाल घोषणा अभियान २०७६ अनुसार १५ बर्ष देखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ । जिल्ला समन्वय समिति प्रमुख शर्माले लामो प्रयास पछि जिल्ला साक्षर घोषणा हुन लागेको खुशी ब्यक्त गर्नुभयो । यसमा सबैको अनिवार्य उपस्थित र सहयोगको आवश्यक रहेको शर्माको भनाई थियो ।
साक्षर जिल्ला घोषणाका लागि सामाजिक विकास कार्यालय हुम्लाले आर्थिक सहयोग गर्ने भएको सोही कार्यालयका प्रमुख हर्क बहादुर बस्नेतले बताउनुभयो । आजै भएको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, सहायक प्रमुख जिलला अधिकारी राजेन्द्र बहादुर चन्द, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावत, लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संद्ध संस्थाहरुको सहभागीता रहेको थियो ।