News

‘राजा वीरेन्द्रले पुष्पलालको शव नेपाल ल्याउन दिएनन्’

लोककृष्ण भट्टराई

पुराना कम्युनिष्ट नेता लोककृष्ण भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग नजिक रहेर काम गरेका थिए । ६२ वर्षीय भट्टराई पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन्।

उनी कम्युनिष्ट नेताहरुले बोलीमा पुष्पलालको नाम जपे पनि व्यवहारमा उनलाई बिर्सिसकेको बताउँछन् । पुष्पलालका विभिन्न आयामहरूबारे अनलाइनखबरलाई भट्टराईले यसरी बताए :

पुष्पलाल शहीद गंगालाल श्रेष्ठका माइला भाइ हुन । जस्तो लेनिन अलेक्जेन्डरका भाइ थिए । अलेक्जेन्डरलाई जारले शहीद बनाएपछि लेनिनले रुसमा मार्क्सवादमा आधारित क्रान्ति सञ्चालन गरे । ठीक त्यस्तै गंगालाललाई राणाहरुले शहीद बनाएपछि पुष्पलालले दाजुको शवको अगाडि नेपालबाट सामन्तवादको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने प्रण गरेका थिए ।

नेपालको पहिलो राजनीतिक संगठन प्रजापरिषदको सदस्य हुनुहुन्थ्यो, गंगालाल । तर, पुष्पलालले ‘कर्मवीर महासभा’ भन्ने छुट्टै पार्टी गठन गर्नुभयो २००० सालतिर । पछि नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएपछि उहाँ सो पार्टीको स्थायी समिति सदस्य र कार्यालय सचिव बन्नुभयो । यस हिसाबले उहाँ नेपाली कांग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो ।

केही समयपछि बीपी कोइराला र डिल्लीरमण रेग्मीको बीचमा अन्तरविरोध शुरु भयो । खासमा कांग्रेसको सम्मेलनले जेलमा रहेका टंकप्रसाद आचार्यलाई संस्थापक सभापति र बाहिर रहेका बीपी र रेग्मीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर, बीपीले रेग्मीलाई तपाईंले मलाई मान्नुपर्छ भन्ने अडान लिएपछि विवाद शुरु भयो ।

दुई शीर्ष नेताहरुलाई मिल्न दबाव दिने हेतुले त्यतिबेला पुष्पलाल १३ दिन अनसन बस्नुभएको थियो । तर, उहाँको अनसन सफल भएन । वीपी र रेग्मीबीच फुट भएरै छाड्यो । यसबाट पुष्पलालमा दिक्दारी पैदा भयो ।

ठिक त्यही समयमा भारतीय कम्युनिष्ट पार्टीका नेता वीटी रणदिवे पुष्पलाललाई भेट्न आए । उनले मार्क्सवादबाट मात्रै नेपालको समृद्धि र आमूल रुपान्तरण सम्भव छ भन्दै पुष्पलाललाई ‘कन्भिन्स’ गरे र कम्युनिस्ट पार्टी स्थापनाका निम्ति प्रेरित गरे । कांग्रेस नेताहरुको किचलोबाट वाक्क भएका पुष्पलाल कम्युनिष्ट पार्टी निर्माण गर्न अग्रसर हुनुभयो ।

२००५ सालमा उहाँले माक्र्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गर्नुभयो । माक्र्सवादको कुनै पनि दस्तावेज नेपाली भाषामा प्रकाशन गराउने पहिलो व्यक्ति पुष्पलाल हुनुहुन्छ । त्यसको एक वर्षपछि २००६ सालमा उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन गर्नुभयो । उहाँ नेकपाको संस्थापक महासचिव हुनुहुन्छ ।

२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि पुष्पलाल लामो समय भारतमा निर्वासित रहनुभयो । २०३५ सालमा भारतमै हृदयघातबाट उहाँको निधन भयो ।

०००

म सानैदेखि कम्युनिष्ट विचारधाराबाट प्रभावित थिएँ । करिब १५ वर्षको हुँदा २०२९ सालमा म पुष्पलाललाई भेट्न बनारस गएँ । त्यहाँ बसेर उहाँहरूले चरम आर्थिक अभावका बीच राजनीतिक गतिविधिहरू अघि बढाइरहनु भएको रहेछ । म त्यतिबेला उहाँहरूले बताए अनुसार चार दिनदेखि चनाको गेडा चपाएको भरमा बाँचिरहनु भएको थियो ।

मैले अलिकति पैसा लगेको थिएँ । त्यसले चामल किने । त्यतिबेला एक मोहर (५० पैसा) को एक किलो राँगाको मासु आउँथ्यो । हामीले एक मोहरमा चार वटा राँगाको खुट्टा ल्याएर १५-१६ जनाले खाएका थियौं ।

भारत निर्वासनमा रहँदा पुष्पलाल अध्ययन र लेखनमा पनि धेरै समय बिताउनुहुन्थ्यो । त्यतिबेला बनारसमा पनि धेरै ठाउँमा विजुली थिएन । उहाँले धेरै किताब टुकीको उज्यालोमा नै लेख्नुभयो । कहिले रेलको प्लेटफर्ममा बसेर लेख्नुहुन्थ्यो । पुष्पलालले ३२ वटा किताब लेख्नुभएको छ ।

नेकपाको मुख्य कार्यालय बनारसमा थियो । त्यसैगरी दरभंगा, गोरखपुर, फारबेसगञ्ज, गौरीफन्टामा पनि सम्पर्क कार्यालय थिए । सुरक्षाका कारणले पार्टीका नेताहरु ठाउँ बदल्दै बस्नुहुन्थ्यो । भूमिगत रुपले नेपालमा पनि आइरहनु हुन्थ्यो । सरकारले भने थाहै पाउँदैनथ्यो ।

०००

पुष्पलाल राजसंस्थाको उन्मुलनका लागि नेपाली कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने मान्यतामा अडिग हुनुहुन्थ्यो । तर, पार्टीका कतिपय नेताहरु उहाँसँग सहमत भएनन् । राजसंस्थासँगै कांग्रेस पनि सामन्तवादी शक्ति भएकाले यसलाई पनि उखेल्नुपर्छ भन्ने उहाँहरुको धारणा थियो । तर, पुष्पलालले आफ्नो लाइन पार्टीमा स्थापित गर्न सफल हुनुभयो ।

यसो गर्दा केही नेताहरुले उहाँलाई ‘गद्दार’ को संज्ञा पनि दिए । मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ नाममा किताब नै लेख्नुभयो । त्यसैगरी मोदनाथ प्रश्रितले पनि ‘पुष्पलालका १२ अपराध’ लेख्नुभयो ।

यसरी लिखितरुपमा संगीन आरोप लाग्दा पनि पुष्पलाल कहिल्यै आक्रोशित र उत्तेजित हुनु भएन । एउटा भेटमा मैले उहाँलाई भनेँ, ‘तपाईंले आफूमाथि लागेका आरोपको लिखितरुपमा जवाफ दिनुपर्छ । तपाईंलाई अप्ठेरो हुन्छ भने हामी लेख्छौं ।’

तर उहाँले भन्नुभयो, ‘उनीहरु सबै मेरा भाइ, छोरा जस्ता हुन् । समयक्रममा उनीहरुले मेरो लाइन ठीक हो भन्ने महसुस गर्ने छन् । अहिले जवाफ दिनु आवश्यक छैन ।’

अन्ततः समयले उहाँलाई सत्य सावित गरेको छ । नेपालमा कम्युनिष्ट र कांग्रेसबीचको सहकार्यले नै ठूला ठूला परिवर्तनहरु भएका छन् । त्यतिबेला उहाँमाथि गद्दारको आरोप लगाउने मोहनविक्रम सिंहहरुले पनि पछि रियलाइजेसन गरे र आफूलाई सच्याए ।

उहाँले आफूमाथि लागेका आरोपको प्रतिवादमा कसैलाई प्रत्यारोप लगाउनुभएन । उहाँले दुई व्यक्तिहरुमाथि चाहिँ टिप्पणी गर्नुभएको छ । पहिलो केशरजंग रायमाझी र दोस्रो मनमोहन अधिकारी । उहाँहरूले राजसंस्थाको पक्षपोषण गर्दा पुष्पलालले कडा प्रतिवाद गर्नुभएको थियो ।

०००

मदन भण्डारी पुष्पलालका असल शिष्य हुनुहुन्थ्यो । पुष्पलालकै चिन्तनमा आधारित रहेर मदनले ‘जनताको बहुदलीय जनवाद’ प्रतिपादन गर्नुभएको हो । पुष्पलालले शुरुदेखि नै बहुदलीय प्रतिस्पर्धामा आधारित नयाँ जनवादको पक्षपोषण गर्दै आउनुभएको थियो ।

नेपालको कम्युनिष्ट पार्टी चीनको, रुसको जस्तो एकदलीय अधिनायकवादको पक्षमा थिएन । उहाँले लेख्नुभएको घोषणापत्रमा संसदमा क्रान्तिकारी हस्तक्षेप गरेर आम सुधारका कार्यक्रम लागू गर्ने उल्लेख थियो । उहाँले न्यायालयमा प्रधानन्यायधीश समेत बार र बेन्चको चुनावबाट छानिनुपर्छ भन्ने मान्यता राख्नुभएको थियो । यति प्रजातान्त्रिक हुनुहुन्थ्यो उहाँ ।

पुष्पलालकै विचारलाई मदनले आफ्नो खुबी प्रयोग गरेर ‘जनताको बहुदलीय जनवाद’ नाममा सिद्धान्तको रुप दिनुभयो, जसले लामो समय एमालेलाई डोेर्‍याएको छ ।

पुष्पलाल र मदनमा को ठूलो भन्ने प्रश्न पनि बेलावखत उठाउने गरिन्छ । तर, मेरो विचारमा उहाँहरुबीच तुलना नै हुँदैन । पुष्पलालकै एउटा अंश हुन् मदन भण्डारी । मदन भण्डारी जन्माउने नै पुष्पलाल हो । त्यसैले तुलना आवश्यक छैन । बाबु र छोराको के तुलना गर्ने ?

०००

मैले करिब ६-७ वर्ष कमरेड पुष्पलालको संगत गरेँ । हामी उहाँलाई माल्दाई भन्ने गथ्र्यौं । मैले चिनेसम्म उहाँ अत्यन्त विनम्र, सरल र मिहिनेती हुनुहुन्थ्यो । उहाँको जीवनशैलीबाट अहिलेका नेताहरुले पाठ सिक्नुपर्छ ।

भारतमा बस्दा पुष्पलालले धेरै घरायशी काम पनि गरेको देखेँ । उहाँ भाँडा माझ्ने, लुगा धुने, भात पकाउने सबै गर्नुहुन्थ्यो । मनमोहन अधिकारी चामल केलाउनुहुन्थ्यो, पुष्पलाल भात पकाउनु हुन्थ्यो । मनमोहनलाई भात पकाउन र भाँडा माझ्न अल्छी लाग्दो रहेछ । पुष्पलाल भने जुनसुकै काममा अघि सरिहाल्ने ।

वैचारिक रुपमा जति दृढ भए पनि बाहिर एकदम नरम हुनुहुन्थ्यो । आफ्ना विरोधीहरूलाई पनि कहिल्यै कडा वचनले बोल्नु भएन । उहाँसँग देश निर्माणको स्पष्ट दृष्टिकोण थियो । तर, त्यसलाई लागू गर्ने ठाउँमा पुग्नु भएन । २०१५ सालको निर्वाचनमा उहाँ गणेशमान सिंहसँग थोरै मतान्तरले पराजित हुनु भएको थियो ।

यदि पुष्पलालले देखाएको आदर्शमा हिँड्ने हो भने १० वर्षभित्रमा देश समृद्ध बन्ने छ । यसका लागि सर्वप्रथम ‘कमिसन कानून’ ल्याउनुपर्छ । जुनसुकै प्रोजेक्टबाट आउने कमिसन राज्यकोषमा दाखिला गर्ने गरी कानून यो सरकारले टेबुल गर्नुपर्छ । पुष्पलालको यही मान्यता थियो ।

२०४८ सालमा तत्कालिन महासचिव मदन भण्डारीले पुष्पलालको लाइन अनुसार कमिसन कानून संसदमा टेबुल गर्नुभएको थियो । तर त्यसलाई कांग्रेसले बहुमतले फेल गरायो ।

अहिले देशका दुई ठूला कम्युनिष्ट पार्टी एक भएका छन् । मैले पुष्पलालको २९ औं स्मृति दिवसका अवसरमा बागबजारको हारती होटलमा आयोजित कार्यक्रममा कम्युनिष्ट एकताका विषयमा कार्यपत्र प्रस्तुत गरेको थिएँ । मैले चाहेजस्तै भएको छ ।

यो सही समय हो, पुष्पलालका मार्गदर्शनहरुलाई अंगीकार गर्ने । राज्यको भूमिका बढाएर समाजवादतर्फको यात्रामा हिँड्ने । अन्य साना बाम पार्टीहरूलाई पनि आफूमा समायोजन गरेर कांग्रेसको साथ लिँदै देश समृद्ध बनाउनुपर्छ । एकतापछिको सरकारले देशको राजनीतिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्नुपर्छ ।

०००

एमालेको अल्पमतको सरकारको पालामा पुष्पलाल प्रतिष्ठान गठन गरिएको हो । यसका लागि मैले पार्टीका नेताहरूसँग ठूलै संघर्ष गर्नुपरेको थियो ।

मनमोहन सरकारले मदन भण्डारीको हुलाक टिकट छाप्ने निर्णय गरेपछि मैले मनमोहनलाई ठाडो प्रश्न राखेको थिएँ, ‘पुष्पलाललाई उपेक्षा गरेर मदन भण्डारीको मात्रै हुलाक टिकट छाप्न मिल्छ कामरेड ?’

उहाँले यसमा कुनै जवाफ दिन सक्नुभएन । बरु तत्कालिन उपप्रधानमन्त्री माधव नेपाल र सञ्चारमन्त्री प्रदीप नेपालसँग कुरा गर्न भन्नुभयो ।

पुष्पलाल प्रतिष्ठान स्थापना गर्ने विषयमा पनि नेताहरुले आनाकानी गर्नुभयो । पुष्पलालका अनुयायी बामदेव गौतमले नै भन्नुभयो, ‘किन चाहियो अहिले पुष्पलाल प्रतिष्ठान ?’

तर, हामीले प्रतिष्ठान स्थापना गरेरै छाड्यौं । लोकेन्द्रबहादुर चन्दको पालामा उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव नै हुनुहुन्थ्यो । उहाँले प्रतिष्ठानका नाममा ५ लाख रुपैयाँ छुट्याइदिनुभयो । यसबाट हामीले अपमानित महसुस गर्‍यौं । त्यो रकम लिएनौं ।

पछि गिरिजाप्रसाद कोइरालाको सरकारले प्रतिष्ठानलाई ५० लाख रुपैयाँ दियो । कांग्रेससँग मिलेर जानुपर्छ भन्ने पुष्पलालको अडानका कारण गिरिजा उहाँका विषयमा पहिलेदेखि सकारात्मक हुनुहुन्थ्यो । त्यसैले रकम दिन तयार हुनुभयो । उहाँले उपलब्ध गराएको रकमबाट पुष्पलाल स्मृति भवन निर्माण भयो ।

प्रतिष्ठानले पुष्पलालका कृतिहरु भाग एकदेखि चारसम्म छापेको छ । कम्युनिष्ट आन्दोलनका विभिन्न दस्तावेज छापेको छ । कम्युनिष्ट आन्दोलनका विषयमा विद्यावारिधी गर्न चाहनेहरुलाई अध्ययन सामग्री उपलब्ध गराइएको छ ।

अहिले जनस्तरबाटै पुष्पलालको जीवनमा आधारित वृत्तचित्र निर्माणको काम भइरहेको छ । यसका लागि भारतमा पुष्पलाल बस्नुभएका विभिन्न स्थानमा पुगेर छायांकन गरिएको छ । उहाँलाई चिनेका भारतीय नेताहरुसँग कुराकानी भएको छ ।

पुष्पलाल जन्मनुभएको स्थान रामेछापमा ८० रोपनी जग्गा सरकारले उपलब्ध गराएर प्रतिष्ठानले पुष्पलाल पार्क बनाउँदैछ ।

०००

पुष्पलालको निधन अल्पायूमै भयो । दरभंगामा उहाँलाई ह्रदयघात भएपछि उहाँलाई भेट्न गणेशमान, गिरिजा, र उहाँकी श्रीमती साहाना प्रधान जानुभएको थियो । उहाँहरु सबैले पुष्पलाललाई दिल्ली लैजानुभयो ।

दिल्लीमा तत्कालिन जनता पार्टीका अध्यक्ष चन्द्रशेखर पुष्पलाललाई भारत सरकारकै खर्चमा यूरोपमा उपचारका लागि लैजाने प्रस्ताव राखेका थिए । तर पुष्पलालले मान्नु भएन । नेपालीकै पैसाले आफूले उपचार गर्ने र भारतको सहयोग नलिने उहाँको धारणा थियो । अस्पतालको क्याविनमा लैजान खोज्दा पनि अस्वीकार गरेर उहाँ जनरल बेडमै रहनुभएको थियो । त्यहीँ उहाँको देहान्त भयो ।

मृत्युपछि भारतीय प्रधानमन्त्री मुरारी देशाईले नेपालमा राजा वीरेन्द्रलाई सम्पर्क गरेर पुष्पलालको लास पठाइदिन्छु भन्दा वीरेन्द्रले मान्नुभएन । दिल्लीकै निगाम बोध घाटमा उहाँको दाहसंस्कार गरियो ।

साभार अनलाइन खबर डटकम

  • OFF AIR
Kannali Open Women School

Today's Highlight

View all programs